Logo

उचित प्राविधिक अध्ययनबिना मेलम्चीको पानी ल्याउनु राजनीतिक स्टन्ट: बालेन शाह



काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उचित प्राविधिक अध्ययनबिना मेलम्चीको पानी ल्याउनु राजनीतिक स्टन्ट भएको बताएका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मेलम्चीको उद्घाटनपछि मेयर बालेनले फेसबुकमा स्ट्याटस राख्दै मेलम्चीको पानी ल्याउँदा हुने प्राविधिक जोखिमको आकलन र समाधान नगरी राजनीतिक स्टन्टका लागि मात्रै ल्याइएको आरोप लगाएका हुन् ।

मेयर बालेनले राजनीतिक लाभका लागि अस्थायी परिणाम ल्याउने र पुनस् समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुने बताए ।

‘प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनीतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्काउने सिलसिलाको पछिल्लो कडी मात्रै हो,’ उनले लेखेका छन्, ‘राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनस् समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो ।’

मेयर बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुनमा कीर्तिमानकै लागि मेलम्चीको उद्घाटन गर्दा प्राविधिक पक्षलाई जोखिममा राखिएको बताएका छन् । जसको असर सोही वर्षमै देखिएको उनको जिकिर छ ।

‘बाढीको लेदो पसेर तथा बाढीले विअर, इन्टेक, ग्र्याबल फ्लसिङ आउट, लेट, स्यान्ड फ्लसिङ सिस्टम, डाइभर्सन टनेल आउट लेट र गेटलगायतका संरचनाहरू ध्वस्त परेपछि मेलम्ची बन्द भयो,’ उनले लेखेका छन्, ‘कीर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीसँगै आउने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो । त्यो नगरी मेलम्चीमा राज्यको अर्बौं लगानी जोखिमपूर्ण मात्र बनाइएन, काठमाडौँवासीको स्वस्थ पानी पिउन पाउने हकलाई समेत अवमूल्यन गरियो । देशव्यापी नेपालमा केही हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढवा दिन मलजल समेत गर्‍यो ।’

यस्तै विभिन्न समयमा व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौं झारेर उद्घाटन गर्ने कुप्रथाको सुरूवात भएको समेत मेयर बालेनले बताएका छन् । त्यसकै सिलसिलाको नयाँ संस्करण आज प्रधानमन्त्रीबाट भएको मेयर बालेनको भनाइ छ ।

‘अहिले पनि प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ। मुहानको पूर्वतिरको डाँडामा पहिरोको जोखिम छ,’ उनले लेखेका छन्, ‘त्यो झरेर कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदै छ । बालुवा थेग्रिने संरचनाहरूको अभावमा लेदो सिधै सुरूङमा पसेर सुरूङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौं समय र अर्बौंको लागत लाग्न सक्छ । तर वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरू निर्माण भइसकेका छैनन् ।’

मेयर बालेनका अनुसार त्यसैले वर्षा याम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था आउँछ । हिउँदमै पनि लेदो नथिग्राई सिधै डाइभर्सन क्यानलबाट पानी सुरूङमा लैजाँदा पानीमा भएका बालुवा सुरूङमा बिस्तारै थिग्रिएर केही समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिने उनले बताएका छन् । जसले लामो समयसम्म पानी आपूर्ति बन्द हुन सक्ने उनको भनाइ छ । त्यसैले यस्ता समस्याबाट जोगिन नयाँ इन्टेक खोलाको माथितिर राम्ररी अध्ययन गरेर सार्न आवश्यक भएको र लेदो थिगार्ने संरचना सुरूङभित्रै बनाउन उचित हुने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्