Logo

बेलुनमा हावा भर्ने क्रममा मेसिन विस्फोट हुँदा सहनी गम्भीर घाइते



झापा, २ माघ । बिर्तामोड नगरपालिका-७ गरामनीस्थित बेल्स मोडल स्कुलमा अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलले आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजन ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् ।

उनलाई उपचारका लागि बीएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको विद्यालयका संस्थापक जय प्रसाईंले बताए। विद्यालय सजावटका लागि भारत सिलिगुडीको पार्टी डेकोरेशन सिलिगुडी भन्ने कम्पनीले ठेक्का लिएको थियो । कम्पनीले सहनीलाई कामदारको रुपमा खटाएको थियो ।

घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा एक विद्यार्थी सामान्य घाइते भएको जनाइएको छ ।

उक्त ग्यास सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत १५ वर्षीया कुसुम तामाङको कानमा समस्या आएको छ । उपचारका लागि उनलाई पनि बीएण्डसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्