Logo

देश विकास गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः सुवाल



भक्तपुर, २ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देश विकास गर्न नसके राजीनामा दिन सुझाव दिएका छन् ।

२६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीमा उनले यस्तो बताएका हुन् ।

केही दिनअघि राजनीतिक दलका नेताहरूको बैठक राखेर प्रधानमन्त्री बनेको एक वर्ष मात्र भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएको उनले सुनाए । सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न उनले सुझाव दिए । अघिल्लो सरकारले गरेको भए पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।

राणाशासन र पञ्चायतविरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने उनले बताए । उनले जनतालाई धोका दिएर सिंहदरबार ‘कब्जा’ गरेर नबस्न चेतावनी दिए । नेपालका प्रधानमन्त्रीसँग देश विकासको खाका नरहेको उनले जिकिर गरे । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई ‘नर्क’ बनाएको उनको आरोप छ ।

“हाम्रा प्रधानमन्त्रीहरूसँग देश विकासको खाकै छैन । अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो प्रधानमन्त्रीको भनाइ,” उनले भने, “अघिल्लो सरकारहरूले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि, होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि !”

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । अहिलेसम्म मेलम्चीमा पानीका निम्ति ६० अर्ब खर्च भएको र अब ६० अर्ब रुपैयाँ खर्च गरे पनि काठमाडौँमा बाह्रैमास पानी नआउने उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्