Logo

पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छ: राष्ट्रपति



काठमाडौँ, २ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिएका छन् ।

होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका हुन् । उनले भने, “होटल आफैँले कृषि फार्म सञ्चालन गरेर वा कृषकले सञ्चालन गरेका फार्मसँग सम्झौता गरी कृषिउपजलाई सिधै होटलका प्लेटमा पु¥याउने कार्यक्रम सञ्चालन गर्नुस् ।”

राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए । उनले भने, “सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु ।”

उनले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका काम भइरहेको र अगाडि बढिरहेको स्पष्ट पारेका थिए । राष्ट्रपति पौडेलले पर्यटनलाई आयआर्जन र समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए । उनले भने, “नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्दछ । यस वर्ष दश लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।”

राष्ट्रपति पौडेलले नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न सकिनेमा विश्वास व्यक्त गरेका थिए । उनले पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातित ढङ्गले बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकलमार्ग, निःशुल्क इन्टरनेटलगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव थप बढ्ने उल्लेख गरेका हुन् ।

पर्यटन उद्योगको आधारस्तम्भको रुपमा रहेको होटल क्षेत्रलाई प्राथमिकता प्राप्त उद्योगको सेवा सुविधा प्रदान गरी निजी क्षेत्र र सरकारी क्षेत्रबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्