Logo

फोहरमा नवजात शिशुको शव फेला



उदयपुर, ३ माघ । उदयपुरको कटारी नगरपालिका-३ राजावासमा रहेको फोहर विसर्जनस्थल (डम्पिङसाइट)मा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ ।

फोहर सङ्कलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताएका हुन् ।

वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले सङ्कलन गरी लगेर फालेको फोहरमा शव भेटिएको हो । शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ ।

“आजै उठाइएको फोहरमा शव रहेछ”, वडासदस्य खाँले भने, “नगरपालिकाको ट्र्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।” इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अङ्ग बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्