Logo

कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न बन्यो समिति



काठमाडौँ, ६ माघ । कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगु संयोजक रहेको तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।

वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्यसचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् ।

प्रदेशसभा बैठकले गत वर्षको फागुन १७ गते प्रदेशको नाम (कोशी) पारित गरेदेखि पहिचान पक्षधरले पुनः नामकरणको माग गर्दै आन्दोलन गरिरहेका छन् । उक्त आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बू (लाजेहाङ)को मृत्यु भएको थियो ।

वार्ता समिति संयोजक मन्त्री जवेगुले तत्काल समितिको बैठक बसेर निर्णय गरी आन्दोलनरत पक्षलाई पत्राचार गरेर वार्ता प्रक्रिया अघि बढाउने बताए । पहिचानवादीले प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री तथा प्रदेशसभा सदस्यलाई जिल्ला प्रवेशमा अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्