Logo

उपसभापति खड्का भन्छन्: मुलुक कांग्रेसकै नीतिअनुसार चलेको छ



काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताएका हुन् ।

उनले आगामी महासमिति बैठकपछि महासमिति सदस्यहरू थप ठुलो आशा र भरोसा जाग्ने गरी अभियान पार्टीले सुरु गर्ने जानकारी पनि दिए ।

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठुलो पङ्क्तिका बिच  खटपट हुने नदिने गरी काम गर्नु पर्नेमा जोड दिएका छन् ।

जनप्रतिनिधि र पार्टी पति मिलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताका बिचमा जान थप सहज हुने उनको भनाइ थियो ।

उपसभापति खड्काले १३औँ महाधिवेशनमा मासिक सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गरेका थिए ।

उनले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिए । उनले संविधान निर्माण गर्दा जसरी कांग्रेसले अपनत्व लिएको थियो सोही अनुसार कार्यान्वयनमा पनि क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्