Logo

कोशीमा ट्राफिक कारबाहीद्वार आठ करोड जरीवाना सङ्कलन



इटहरी, ११ माघ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले छ महिनाको अवधिमा रु सात करोड ८५ लाख ९६ हजार आठ सय ४३ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख श्यामकुमार महतोका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा सडकमा लापरबाही गर्ने सवारी कारबाहीबाट सो रकम बराबरको राजस्व सङ्कलन भएको हो । कार्यालयले सो अवधिमा प्रदेशका १४ जिल्लामा एक लाख १७ हजार एक सय ९८ वटा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीलाई कारबाही गरेको थियो । उनले मोरङ जिल्लामा सबैभन्दा बढी सवारी कारबाहीबाट राजस्व सङ्कलन गरेको बताए । मोरङले २७ हजार छ सय ५७ सवारीलाई कारबाही गरी रु एक करोड ८२ लाख ८१ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।

प्रमुख महतोले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइरहँदा पनि दुर्घटना बढिरहेको बताए । उनले छ महिनाको अवधिमा सडकमा सवारी दूर्घटनामा परेर कोशीमा एक सय ८८ जनाको मृत्यु भएको, चार सय १५ जना गम्भीर र दुई हजार तीन सय ५० जना सामान्य घाइते भएको बताए ।

कार्यालयले मातहातका कार्यालयमार्फत् १४ जिल्लामा सिटी सफारी व्यवस्थापन, चालकको लापसे, मापसे परीक्षण, चोरीको साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रममा जोड, फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन, प्रविधिको जडान तथा प्रयोगका लागि समन्वय आदि गरिरहेको छ । उनले हाल तराईको क्षेत्रमा हुस्सु, कुहिरोबाट हुने दुर्घटना न्यूनीकरणका लागि सवारीमा रिप्लेक्टर स्टिकर टाँस, ट्राफिक कम्युनिकेसन एप्सको प्रयोग र सरोकारवाला निकायसँगको सहकार्यमा विभिन्न कार्यक्रम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्