Logo

राष्ट्रियसभा निर्वाचन: कोशीमा काँग्रेसका सिटौला र एमालेका कोइराला निर्वाचित



विराटनगर, ११ माघ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका सिटौलाले नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन् ।

प्राप्त मतपरिणाम अनुसार नेता सिटौलाले ५ हजार २९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार पर्शुराम अधिकारीले १४८ मत प्राप्त गरेका हुन् ।

यस्तै कोशीबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बनेकी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै जित निकालेकी हुन् ।

प्राप्त मतपरिणाम अनुसार कोइरालाले ५ हजार ८६ मत प्राप्त गर्दा कार्कीले ४ हजार ९९२ मत मात्र प्राप्त गरेकी थिइन् । कार्कीलाई गठबन्धनका तीन जना प्रदेश सभा सदस्यले मत क्रस गरेको गणनाका क्रममा देखिएको थियो ।

कूल ९३ जना प्रदेश सभा सदस्यमध्ये कोइरालाले ४९ जना सांसदको मत प्राप्त गरिन् भने कार्कीले ४४ जनाको मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्