Logo

गाजास्थित संयुक्त राष्ट्रसङ्घीय प्रशिक्षण केन्द्रमा आक्रमण: नौ जनाको मृत्यु, ७५ घाइते



इजरायल, ११ माघ । गाजाको प्रमुख दक्षिणी सहर खान युनसस्थित संयुक्त राष्ट्रसङ्घको प्रशिक्षण केन्द्रमा आक्रमण गरी आगो लगाइएको छ । घटनामा  कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

गाजामा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घ राहत तथा योजना निकायका एजेन्सीका निर्देशक थोमस ह्वाइटले सामाजिक सञ्जाल एक्स (ट्रवीटर)मा जनाएअनुसार आठ सय जना मानिसहरु बसोबास गरिरहेको भवनमा गोलाबारी भएको थियो । आक्रमणमा ७५ जना घाइते भएका संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् ।

युएनआरडब्लुए र विश्व स्वास्थ्य सङ्गठनका उद्धार टोलीहरू उद्धारको लागि केन्द्रमा पुग्ने प्रयास गरिरहेको उनले बताए । खान युनूसको पश्चिमी क्षेत्रमा इजरायली बम विष्फोटले प्रशिक्षण केन्द्रमा ठूलो आगलागी निम्त्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

आगलागीले भवनको ठूलो भागमा क्षति पुगेका कारण धेरै मृतक तथा घाइते व्यक्तिलाई केन्द्र भित्रबाट बाहिर सार्नु परेको उनले बताए । इजरायली सेनाले लगाएको घेराबन्दीका कारण एम्बुलेन्स र मेडिकल टोलीहरू जलिरहेको प्रशिक्षण केन्द्रमा पुग्न नसकेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्यालेस्टिनी विदेश मन्त्रालयले प्रशिक्षण केन्द्रमा भएको गोलाबारीको निन्दा गरेको छ । युएनआरडब्लुएका संस्था, कर्मचारी, विद्यालय, आश्रय र उपकरणहरूलाई इजरायलले सुनियोजित रूपमा आक्रमण गरेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्