Logo

प्रधानमन्त्री कप क्रिकेट: मधेस र बाग्मती विजयी



काठमाडौँ, ११ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेश र बाग्मती प्रदेश विजयी भएका छन् ।

कीर्तिपुरमा आज भएको खेलमा मधेसले गण्डकी प्रदेशलाई १ सय ४५ रनले हराएको हो ।

मधेसले दिएको ३ सय ३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९ ओभर ५ बलमा १ सय ९० रनमा अल आउट भएको हो । मधेसका रन्जित कुमारले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३५ रन बनायो । मधेसका अनिल साहले शतक बनाए । अनिल १ सय २५ बलमा १ सय २७ रन बनाएर आउट भए । यस्तै अरनिको यादवले नट आउट ६३ रन जोडे । मधेस १० अङ्कसहित तेस्रो स्थानमा पुगेको छ । गण्डकी ४ अङ्कसहित आठौँ स्थानमा छ ।

यस्तै आजै मूलपानीमा भएको खेलमा बाग्मतीले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराएको हो ।

बाग्मतीले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३० ओभर ३ बलमा १ सय ५० रनमा अल आउट भयो । बाग्मतीका सूर्य तामाङ र विपिन आचार्यले समान ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बाग्मतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन बनायो । बाग्मतीका आशुतोष घिरैयाले ५४ रन बनाएका थिए ।

सुदूरपश्चिमका नारायण जोशी र शेर मल्लले समान ३ विकेट लिए । बाग्मती १० अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम ८ अङ्कसहित पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्