Logo

यु-१९ विश्वकप: अफगानिस्तानविरुद्ध पावर प्लेमा नेपालको घातक बलिङ



काठमाडौँ, १२ माघ । आइसिसी यु-१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको ५ विकेट पतन गरेको छ । अफगानिस्तानले १० ओभर ब्याटिङ गर्दै ३५ रन बनाएर ५ विकेट गुमाएको छ ।

नेपालका लागि आकाश चन्दले ५ ओभर बलिङ गर्दै १ मेडन सहित ९ रन दिएर ४ विकेट लिएका छन् । यस्तै गुलशन झाले पनि ५ ओभरमा १ मेडन सहित १७ रन दिँदै १ विकेट लिएका छन् ।

पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भएका हुन् ।

जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खान पनि आकाशको बलमा देवको हातबाट क्याच आउट भए । अलि अहमदलाई पनि आकाशले शुन्यमा पेभेलियन फर्काएका छन ।

नेपालले आज प्लेइङ-११ मा दुई परिवर्तन गरेको छ । पाकिस्तान विरुद्धको हारमा खेलेको ११ मा नेपालले दुई परिवर्तन गरेको हो । विकेटकिपर उत्तम मगर र तिव्र गतिका बलर दुर्गेश गुप्ता टोलीबाट बाहिर रहेका छन् । मध्यक्रमका ब्याटर दिपक बोहोरा र लेग-स्पिनर तिलक भण्डारी टोलीमा फर्किएका छन् ।

आज जित हासिल गर्ने टोलीले सुपर सिक्समा आफ्नो स्थान पक्का गर्ने छ । पराजित हुने टोली भने १३औ स्थानका लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्