Logo

यू-१९ विश्वकप: आकाशको उत्कृष्ट बलिङमा नेपाललाई मध्यम लक्ष्य



दक्षिण अफ्रिका, १२ माघ । आकाश चन्दको घातक बलिङप्रेरित नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानबाट १४६ रनको लक्ष्य पाएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालले कसिलो बलिङ गरेपछि अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमै समेटिएको हो ।

अफगानिस्तानलाई कमजोर योगफलमा रोक्न नेपालका आकाशले पाँच विकेट लिए । उत्कृष्ट बलिङ गरेका आकाशले आठ ओभरमा ३४ रनमात्र खर्चिए । उनले खेलको दोस्रो, छैटौँ, आठौँ, १०औँ र १२औँ ओभरमा नेपाललाई सफलता दिलाएका थिए ।

आकाशबाहेक, दीपेश कँडेलले दुई विकेट लिएका थिए भने गुल्सनकुमार झा, सुवास भण्डारी र तिलक भण्डारीले समान एक विकेट हात पारेका हुन् ।

अफगानिस्तानका अल्लाह मोहम्मद घजानफरले ३७ रन बनाए । कप्तान नासिर खान मरुफखिलले ३१ र र फरिदुन दावुदजाईले २९ रन थपे । ८८-८ को दयनीय अवस्थाबाट यी दुईले नवौँ विकेटका लागि ५५ रनको साझेदारी गर्दै अफगानिस्तानलाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्