Logo

काठमाडौँमा यस वर्षकै धेरै चिसो महसुस



काठमाडौँ, १३ माघ । आज काठमाडौँमा यस वर्षकै सबैभन्दा धेरै चिसो भएको छ ।

आज बिहान पौने ९ बजे काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो ।

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । हिमाली भेगको तापक्रम शूून्यबाट पनि तल झरेको छ भने तराई मधेशमा पनि तापक्रम एक-दुई डिग्रीसम्म पुुग्ने गरेको छ । जुम्लाको माइनस ५ दशमलव २, मुुस्ताङ जोमसोमको माइनस ५ दशमवल ५ र दोलखा जिरीको माइनस १ डिग्री सेल्सियस छ । यस्तै डडेलधुराको २ दशमलव १, दिपायलको १ दशमलव ९, विरेन्द्रनगरको २ दशमलव ६ र ताप्लेजुङको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।

आज पनि देशका धेरै ठाउँमा बदली भएको छ । तर पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको तथा अन्य पहाडी भू-भागमा भने मौसम सफा नै रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

हिमाली तथा उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईमा भने बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्