Logo

पत्रकारिता क्षेत्रको सुधारका लागि सरकारको सहयोग रहन्छ: उपप्रधानमन्त्री खड्का



काठमाडौँ, १३ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै उनले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण र मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा पैरवी गर्दै महत्वपूर्ण उपलब्धि हासिल गर्न योगदान दिएको बताएका हुन् ।

उपप्रधानमन्त्री खड्काले भने, “पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामूहिक दायित्व पनि हो, पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारबाट सधैँ साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”

उनले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासङ्घको भूमिका अग्रणी र महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताए ।

उपप्रधानमन्त्री खड्काले जहानियाँ राणाशासनकालदेखि सुरु भएको नेपाली पत्रकारिताले राणाशासनविरुद्ध जागरण ल्याउनुका साथै, एकदलीय पञ्चायतविरुद्धको अभियान हुँदै बहुदलीय प्रजातन्त्र स्थापना तथा हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका साथै विकास र समृद्धिको यात्रामा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरेका थिए ।

उनले भने, “पत्रकारिता आवाजविहीनको आवाज एवं समाजको ऐना भएकाले लोकतन्त्रलाई समुन्नत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्वपूर्ण भूमिका छ र यो आगामी दिनमा पनि कायम रहन्छ भन्ने मेरो विश्वास छ ।”

उनले राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने उल्लेख गर्दै यसले नागरिकको भरोसा अभिवृद्धिमा सहयोगसिद्ध हुनुपर्ने धारणा राखेका थिए । “यदाकदा पत्रकारिता क्षेत्रमासमेत अरु क्षेत्रको जस्तै कमीकमजोरी देखिने गरेको छ, पत्रकारले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्ने मूल दायित्वबाट विचलित नभई न्यायका पक्षमा सतिसालजस्तो उभिनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्