Logo

प्रधानमन्त्री कप क्रिकेट: एपिएफ र बागमती विजयी



काठमाडौँ, १३ माघ । विभागीय टोली नेपाल एपिएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार जित निकालेका छन् ।

मु्लपानी मैदानमा भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ८८ रनले हरायो भने कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले हराएको हो ।

जितसँगै सात खेलबाट आठ अङ्क बनाएको एपिएफ छैटौँ स्थानमा छ । यस्तै नौ खेलबाट १२ अङ्क बनाएको बागमती दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको नेपाल पुलिस क्लबको पनि ६ खेलबाट १२ अङ्क छ ।

मुलपानीमा जितका दुई सय आठ रनको लक्ष्य पछ्एको गण्डकी प्रदेश ३३.४ ओभरमा सबै विकेटको क्षतितमा एक सय १९ रनमा समेटिएको थियो । गण्डकीको लागि ओपनर समिर कँडेलले सर्वाधिक ३३ रन बनाए । इश्वोर छेत्रीले २८, विपिन खत्रीले १८ रन बनाए । बलिङमा एपिएफका अमर राउटेलाले चार विकेट लिए । मौसम ढकालले, भुवन कार्कीले दुई र रमेश कुर्मीले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिलेृ ब्याटिङको निम्तो पाएको एपिएफले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो । एपिएफका लागि ओपनर लोकेश सर्वाधिक ५० रन बनाए भने भुवन कार्कीले ४५, प्रदिप ऐरीले ३९ र पुरन विकले ३० रन बनाएका थिए ।

बलिङमा गण्डकीका कमल परियारले तीन विकेट लिएका थिए भने विपिन खत्री, अमृत गुरुङ र सन्दिप पराजुलीले दुई दुई विकेट लिएका थिए ।

यस्तै त्रिवि मैदानमा बलर सूर्य तामाङ र ब्याट्सम्याा इशान पाण्डे चम्किएपछि बागमतीले लुम्बिनीमाथि ६ विकेटको सहज जित निकालेको हो । बागमतीको जितमा सूर्य एक्लैले सर्वाधिक ६ विकेट लिएका थिए ।

जितका लागि एक सय सात रनको लक्ष्य पछ्याएको बागमतीले १७.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । बागमतीका लागि इशान पाण्डेले ५० रन बनाए । कप्तान रित गौतमले २४ र अशुतोष घिरैयाले १४ रन जोडे । बलिङमा लुम्बिनीका निर्मल गुरुङले दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको लुम्बिनीले ३२.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङमा बामगतीका सूर्यले ६ सहित विपिन आचार्यले दुई तथा कृजन गुरुङ र प्रतिश जिसीले एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्