Logo

सुक्खा बन्दरगाह निर्माण छिट्टै सुरु हुन्छ: नेता लेखक



कञ्चनपुर, १३ माघ । नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई-तीन महिनाभित्रै सुरु हुने बताएका छन् ।

आज कञ्चनपुरमा आयोजित कार्यक्रममा नेता लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि छिट्टै बोलपत्र आह्वान हुने बताएका हुन् । “सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल र भारतबीच अन्तिम सम्झौता भइसकेको छ”, नेता लेखकले भने, “दुई-तीन महिनाभित्रै भारतको सहयोगमा बोलपत्र आह्वान गरेर बन्दरगाह निर्माण अगाडि बढाउँछौँ ।”

त्यसैगरी उनले डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै छिमेकी मुलुक चीनसम्म महाकाली करिडोर जोड्ने काम अगाडि बढेको बताए । “यस वर्ष कञ्चनपुरबाट डडेल्धुराको जोगबुढासम्म ट्रयाक खोल्न सफल भएका छौँ”, उनले भने, “आउँदो प्रत्येक वर्ष एक-एक जिल्ला हुँदै महाकाली करिडोरलाई चीनसम्म जोड्ने हाम्रो योजना छ ।”

उनले महेन्द्रनगरस्थित मझगाँउमा विमानस्थल सञ्चालनमा ल्याउन र महाकाली प्रादेशिक अस्पताललाई थप गुणस्तर बनाउने प्रयास भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्