Logo

भोजपुर मेयरकप भलिबल प्रतियोगिताको विजेता बन्यो दमक  



भोजपुर, १४ माघ । भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा सञ्चालित प्रथम मेयरकप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ ।
आइतवार भएको फाइनलमा भोजपुरको षडानन्द नगरपालिकालाई तीन सेटमै हराउँदै दमक नगरपालिका विजेता बन्न सफल भएको हो । शुक्रबार भएको सेमिफाइनलमा भोजपुरको आमचोक गाउँपालिकालाई हराउँदै दमक नगरपालिका र भोजपुर नगरपालिकालाई पछि पार्दैै षडानन्द नगरपालिका फाइनलमा प्रवेश गरेका थिए ।
विजेता दमक नगरपालिकाले नगद रु एक लाख र उपविजेता षडानन्द नगरपालिकाले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने सेमिफाइनलमा पुगेका दुई टिमले पनि रु २५–२५ हजार पाएका छन् ।
यही माघ १० गतेबाट सञ्चालन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा भोजपुर नगरपालिका, दमक नगरपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका र साल्पासिलिछो गाउँपालिका गरी आठवटा टिमले सहभागिता जनाएको आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्