Logo

मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुँदैनः मन्त्री गुरुङ



बुटवल, १७ माघ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले मन्त्रिपरिषदमा परिवर्तन गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा नीहित रहेको बताउँदै मन्त्रिपरिषद् हेरफेरका विषयमा कुरा उठेपनि अहिले त्यो सम्भावना टरेको बताएका हुन् ।

‘‘यो गठबन्धन सरकार हो, गठबन्धनमा रहेका सबै दलसँग सहमति भएमा मात्र मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ,’’ मन्त्री गुरुङले भने, ‘‘गठबन्धन दलहरुमा तत्काल अहिलेकै मन्त्रिपरिषदलाई अघि लिएर जाने सहमति भयो ।’’

मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक अब हुने संसद अधिवेशनमा प्रस्तुत हुने जानकारी दिँदै त्यसका लागि शीर्ष राजनैतिक दलका नेताहरुबिच सहमतिको प्रयास भइरहेको बताए ।

उनले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक भरसक सहमतिमा पेस गर्ने र सहमति नभए पनि प्रक्रियामा गएर प्रस्तुत गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्