![](https://sajilokhabar.com/wp-content/uploads/2024/02/bop-gaourigunj-e1706748794403.jpeg)
कचनकवल गाउँपालिका–४ डाँगीबारी, गौरीगञ्ज गाउँपालिका–४ अन्तामारी र गौरीगञ्ज–२ लालमाटीस्थित बिओपीको सशस्त्र प्रहरी बल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्घाटन गरेका हुन् ।
बिओपी निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । डाँगीबारी बिओपीका लागि उपेन्द्रप्रसाद आचार्यले सात कठ्ठा, लालमाटीका लागि विनिता नेम्वाङले सात कठ्ठा र आल्तामारीका लागि बबिताकुमारी साहले पाँच कठ्ठा जमिन निःशुल्क उपलब्ध गराउनुभएको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका गणपति देवराज अर्यालले जानकारी दिए ।
गणपति अर्यालका अनुसार डाँगीबारीमा निर्मित व्यारेक तथा कार्यालय भवन रु ८३ लाख ७२ हजार ७९३ को लागतमा, अल्तामारीको रु ८३ लाख ४४ हजार २५९ र लालमाटीको भवन रु एक करोड ९७ लाख ७५ हजार ६४० लागतमा निर्माण भएको हो ।
बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले हाल देशभरका सीमा क्षेत्रमा दुई सय ५० बिओपी रहेकामा त्यो सङ्ख्या बढाएर पाँच सय पु¥याउने लक्ष्य रहेको बताए । उनले बिओपी निर्माणसँगै जिल्लामा शान्ति सुरक्षा कायम गर्न, सीमा अतिक्रमण रोक्न, अन्तर–सीमा अपराध नियन्त्रण गर्न, सीमास्तम्भको रेखदेख, अवैध निकासी पैठारी नियन्त्रण गर्न सहज हुने बताए ।
झापामा एक सय ४४ किलोमिटर लामो भारतसँगको खुला सिमाना छ । दुई देशबीच नौ सय ९५ सीमा स्तम्भ, चार सीमा सुरक्षा गुल्म र १७ बिओपी छन् । पोखरेलले झापामा १५ बिओपी थप्न प्रस्ताव गरिएको, सीमास्तम्भको अभिलेखीकरण, मर्मतसम्भार, दशगजा अतिक्रमण नियन्त्रणलगायत काम गरिएको बताए ।