Logo

निर्यात व्यापारलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक: डा.महत



काठमाडौँ, १८ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याएका हुन् ।

अर्थमन्त्री डा.महतले महासङ्घको भूमिकाको प्रशंसा गर्दे भने, ‘‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्त्वपूर्ण योगदान रहँदै आएको छ ।’’

मन्त्री महतले निर्यात व्यवसायी महासङ्घ नेपालले उठान गरेका सवालहरु सबै जायज माग रहेको उल्लेख गर्दै सरकारले चाहँदा चाहँदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसिएको र निकट भविष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी उनले भारतसँगको व्यापार सम्झौताबाट फाईदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको प्रष्ट पारेका छन् । उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने उल्लेख गरेका हुन् । डा.महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्तभन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए । उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित वार्षिकोत्सवको अवसरमा महासङ्घले उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्