Logo

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो: महामन्त्री थापा



 

पर्सा, २० माघ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन् ।

वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखेका थिए ।

उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए । “राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ”, उनले भने, “सबै क्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ ।” माथिलो तहबाट सुधारको प्रयास हुनुपर्ने र सबैले आ-आफ्नो ठाउँबाट सुधारको प्रयास गरे मात्रै मुलुकमा आमुल परिर्वतन ल्याउन सकिने उनको भनाइ थियो ।

उनले बढदो महङ्गी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाएकाले लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढाउन र आमनागरिकको जीवनमा सुधार ल्याउन शुद्धीकरण आवश्यक रहेको बताए ।

केही व्यक्तिका कारण लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि आम सञ्चारमाध्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । राजनीतिक, प्रशासनिकलगायत हरेक क्षेत्रमा देखिएका समस्याबारे सञ्चारमाध्यमले तिखो प्रहार गर्नुपर्ने भन्दै उनले सबैका लागि समान अवसरको व्यवस्थालाई बलियो बनाउन सञ्चार क्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्