Logo

प्रेस चौतारी झापाले मनायो स्थापना दिवस



बिर्तामोड, २२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा चौतारी झापा शाखाले सोमवार बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको शहिद नेत्र पार्कमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

स्थापना दिवसको अवसरमा प्रेस चौतारीले झापाको दोस्रो अध्यक्ष तोयानाथ उपेक्षितलाई नगद २५ हजारसहित सम्मान गरेको छ । उपेक्षित वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेकाले उनका सहकर्मी रमेश गौतमले उक्त सम्मानपत्र बुझेका थिए । गौतम उपेक्षितको कार्यकालमा कोषाध्यक्ष रहेका थिए । चौतारीले यसअघि संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरेको थियो ।

सोही अवसरमा बिरामी भएका तीन जना पत्रकारलाई पत्रकार उपचार सहयोग कोषबाट उपचार खर्च वापत रकम बितरण गरेको छ । पत्रकार उद्धव पुरी, तुलसीप्रसाद निरौला र सावित्रा दाहाललाई जनही ५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरेको हो । त्यस्तै बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रममा सहभागी पत्रकारको निःशुल्क आँखा परीक्षण गरिएको थियो । वनभोजसहित आयोजना गरिएको कार्यक्रममा मनोरञ्जनात्मक प्रतियोगिताहरु सञ्चालन गरिएको थियो ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यता रहेको थियो । चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रदीप परियारले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाम्फे, एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले, एमाले झापा सचिव शिव ढुङ्गेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, महासंघका कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, झापा सचिव डिकेश लामा, प्रेस युनियन केन्द्रिय सचिव रेजिना रोदन, बिर्तामोड–७ वडाध्यक्ष अविरल कृष्ण खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संगठनका झापा कोषाध्यक्ष तीलक योञ्जनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्