Logo

भारतीय गाडी दुर्घटना हुँदा नापी अघिकृतसहित ११ जना घाइते



सर्लाही, २३ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियास्थित चमेली माई मन्दिर नजिक सोमबार राति भएको भारतीय सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित गाडीमा सवार ११ जना घाइते भएका हुन् । सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पीढी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको उखु बोकेको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ११ जनामध्ये नापी कार्यालयका प्रमुख काभ्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय सञ्जय मानन्धर, सर्लाहीको बागमती नगरपालिका–५, का विनोद घिमिरे, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ३५ वर्षीय रामलाल साहको अवस्था गम्भीर छ ।

त्यस्तै दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका–२, का २४ वर्षीय सन्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका–२, का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ५० वर्षीय बैधनाथ पटेल, मलङ्गवा नगरपालिका–७, का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीद नगर नगरपालिका–७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका–२०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएका छन् ।

घाइते सबैको एलेक्स न्यूरो अस्पताल कैलया, बारामा उपचार जारी रहेको छ । प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात् सबै घाइतेलाई एलेक्स न्यूरो रेफर गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्