Logo

नेपाल साफ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरियो



काठमाडौँ, २३ माघ । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले पहिलो खेलमा भुटानलाई १०-० गोलले हराएको थियो । दोस्रो खेलमा बंगलादेशसँग भने भारत १-० गोलले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग १-० गोलले विजयी भएको थियो ।

भारतसँगको खेलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने चार गोल खान पुग्यो । भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक-एक गोल गरे । खेलको ५४औँ मिनेटमा भारतका लागि नेहाले पहिलो गोल गरेकी थिइन् भने ८१औँ मिनेटमा उनले दोस्रो गोल गरिन् ।

यस्तै खेलको ८५औँ मिनेटमा सुलन्जनाले भारतका लागि तेस्रो गोल गरिन । दोस्रो हाफको अत्तिरिक्त समयमा सिन्डीले गोल गर्दै भारतलाई ४-० गोलको सहज जित दिलाइन् । अब फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्