Logo

कोशी प्रदेश सरकार र पहिचावादीबीच वार्ता हुने



विराटनगर, २५ माघ । पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत संयुक्त सङ्घर्ष गर्दै आएका पहिचानवादीसँग कोशी प्रदेश सरकारले आज वार्ता गर्ने भएको छ ।

कोशी प्रदेश सरकारले वार्ताका लागि पत्र पठाएको थियो । संयुक्त सङ्घर्ष समितिले बुधबार सरकारसँग वार्ता गर्ने निर्णय लिएपछि अब वार्ता हुने भएको हो ।

कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो । टोलीमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिवको रूपमा छन् ।

सङ्घर्ष समितिका तर्फबाट भने वार्ताका लागि औपचारिक टोलीबारे जानकारी दिइएको छैन । कोशी प्रदेशसभाले गत वर्ष फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखे पछि पहिचानवादी संघर्षमा छन् ।

प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित उनीहरुले आन्दोलन गर्दै आएका छन् । आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबिच पटक पटक झडप भएका थिए । त्यस क्रममा आन्दोलनकारीमध्ये एक जनाको मृत्यु पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्