Logo

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक: अर्थमन्त्री



काठमाडौँ, २५ माघ । अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै मन्त्री महतले यस्तो दाबी गरेका हुन् ।

मन्त्री महतले विगतमा विदेशी लगानी कर्ताहरु नेपाल आफैँ सम्पर्कम जाँदा समेत उदासीन हुने गरेको भए पनि अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको बताए । उनले विदेशी लगानीकर्ताहरु इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने जिकिर गरेका छन् ।

उनले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन आग्रह गरे । अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताए । उनले सो सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने जानकारी दिए ।

‘‘अहिले अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालमा लगानी गर्नुपर्छ भनि स्वभाविक जिज्ञासा रहेको छ । उनीहरुले नै सोधिरहेका छन् । सामान्यतया यस्तो हुँदैन । हामी सम्पर्कमा जाँदा पनि उहाँहरु उदासिन देखिनुहुन्थ्यो । अहिले एउटा विशिष्ट किसिमको वातावरण बनिरहेको अवस्थामा हामीले यसलाई उपयोग गर्नुपर्छ । यसमा हामी सबै गम्भीर रुपमा लागेर यसलाई ग्राण्ड सक्सेस बनाऔँ । जुनमा वर्ल्ड बैंकका सहुलियत दरमा ऋणमा दिने संस्था छ । त्यसको सम्मेलन नेपालमा गर्नको लागि वर्ल्ड बैंक तयार भएको अवस्था छ ।,’’ मन्त्री महतले भने, ‘‘औपचारिक चिठी पनि केही दिनमा आउँछ । अहिलेसम्म नेपालमा भएको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय सम्मेलन त्यो हुँदैछ । ९२ भन्दा बढी देशको प्रतिनिधित्व हुन्छ । वल्र्ड बैंकका प्रेसिडेन्ट लगायतको उपस्थिति हुन्छ र अन्य महत्त्वपूर्ण संस्को उपस्थिति हुन्छ । त्योभन्दा अघि हामी लगानी सम्मेलन पनि वैशाख १६ र १७ गते गर्दैछौँ ।’’

मन्त्री महतले सो सम्मेलनमा ९२ देशका प्रतिनिधि, वर्ल्ड बैंकका प्रमुखको उपस्थिति हुने बताए । लगानी सम्मेलनलाई सफल बनाउनसके फाइदा हुने बताए । उनले सुरुवातामा कर र कण्डिसनलाई केही सहज बनाएर लगानी गर्न दिनुपर्ने बताएका हुन् । लगानी सम्मेलनले नेपाली लगानी कर्तालाई पनि उत्साहित बनाउन जरुरी रहेको उनी बताउँछन् ।

उनले भने, ‘‘यो उपलब्धिमुलक बनाउँदा नेपालमा बृहत् मल्टिल्याटर, बाइल्याटर मात्रै होइन, निजी लगानीको दायरा पनि व्यापक रुपमा बढ्ने सम्भावना छ । यसमा हामीले अलिकति छाती फाराकिलो गर्नुपर्ने आवश्यकता छ । लगानी आयो भने त्यसबाट लिने हो । आउँदै आएन भने के लिने? त्यसकारण अहिले हामीले ट्याक्सका कुरा गर्छौं, यो कण्डिसन राख्नेकुरा गर्छौं, उ कण्डिसन राख्ने गर्दछौँ । आउन दिनुपर्छ । जस्तो युएईले पहिला ट्याक्स लिएन सबै आए । अहिले ट्याक्स लगाउँदा कोही पनि छोडेर जानेवाला छैनन् । त्यस्तै माहोल नेपालमा बनाउसक्छौँ । नेपाली लगानी कर्तालाई पनि उत्साहित गर्न जरुरी छ ।’’

प्रतिक्रिया दिनुहोस्