Logo

युद्धविरामका लागि लडाकु समूह हमासले राखेको सर्त इजरायलले नमान्ने



इजरायल, २४ माघ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामका लागि लडाकु समूह हमासले राखेका सर्त अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री नेतान्याहुले एक महिनाभित्रै गाजामा पूर्ण विजय हासिल गर्ने भएकाले हमासको प्रस्तावित युद्धविराम स्वीकार नगर्ने बताएका हुन् । युद्धविराम प्रस्तावको जवाफमा हमासले शृङ्खलाबद्ध माग राखेपछि इजरायल लचिलो नहुने भएको बीबीसीले जनाएको छ ।

नेतान्याहुले हमासका सर्तहरू अनौठा र न्यायसंगत नभएको टिप्पणी गरेका छन् । उनले गाजामा अन्तिम विजय हासिल गर्नु बाहेक अर्को समाधान नरहेको बताएको खबरमा उल्लेख छ ।

इजिप्ट र कतारको मध्यस्थतामा नयाँ चरणको वार्ता आज कायरोमा हुने सम्भावना थियो । तर दुवै पक्ष युद्धविरामका लागि लचिलो नदेखिएको भन्दै इजिप्टले सबै पक्षलाई विना सर्त शान्ति सम्झौतामा पुग्न लचिलो हुन आह्वान गरेको छ।

यसअघि इजरायल-गाजा युद्धविराम योजनाबारे हमासले सकारात्मक प्रतिक्रिया दिएर गाजाको पुनर्निर्माण, त्यहाँका बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता गर्ने र विस्थापितहरुको लागि भएका प्रावधानहरुमा केही संशोधन गरेर घाइतेको आवश्यक उपचार गर्नु पर्ने सर्त राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्