Logo

झापाका ३ सय २१ हात्ती पीडित परिवार राहतको पर्खाइमा



झापा, २६ माघ । झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका पीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता जिल्लाका विभिन्न ठाउँ र समयमा हात्तीको आक्रमणमा परि जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन् ।

चालु आर्थिक वर्षको गएको कात्तिक २ गतेसम्म तीन सय २१ हात्ती पीडित परिवारलाई ५८ लाख २८ हजार नौ सय ४० रुपैयाँ राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

उनका अनुसार राहत माग गरिएकामा एक जना मृतकको १० लाख, तीन जना घाइतेका लागि पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एक बराबर १० हजार, विभिन्न घरगोठमा पुर्‍याएको क्षतिको पूर्तिका लागि १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षति बराबर छ लाख ३९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर २१ लाख १५ हजार नौ सय रुपैयाँ रहेको छ ।

कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट ज्यान गुमाएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । हात्ती पीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको वन अधिकृत पराजुलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्