Logo

वर्तमान सरकार गठनपछि धेरै सुधार भएको छ: मन्त्री गुरुङ



चितवन, २८ माघ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार गठन हुँदाको समयको तुलनामा अहिले धेरै सुधार भएको बताएका छन् ।

नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले धेरै सुधार भए पनि मुलुकमा अझै अप्ठ्यारो अवस्था भने कायमै रहेको उल्लेख गरेका हुन् ।

“वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण थियो । सबैतिर अब नेपाल पनि श्रीलङ्काकै पदचापमा जाने भयो भन्ने अवस्थामा थियो”, उनले भने, “हामीहरु मन्त्रीमण्डलमा समावेश भइसकेपछि त्यो अप्ठ्यारो परिस्थितिबाट विस्तारै ‘ट्र्याक’मा ल्याउँदै छौँ । पूरै राम्रो भइसकेको भने छैन ।”

केही अप्ठ्यारो परिस्थितिका कारण जनताको चाहनाअनुसार काम हुन नसकेको भनाइ उनको भनाइ थियो । “हामीले चाहे जति गर्न सकिरहेका छैनौँ मैले स्वीकार गर्छु”, उनले भने ।

उनले न्यायालय स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालय स्वतन्त्र छ भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने बताए । न्यायाधीशहरुले कमी कमजोरी गरे न्यायपरिषद्ले कारबाही गर्ने उनको भनाइ थियो । उनले भने “न्याय सम्पादनमा यदि कमी कमजोरी देखियो र त्यसमाथि केही कुरा जोडिएर आयो भने सरकारले कसैलाई छाड्दैन ।”

सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको बताउँदै उनले दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका थिए । उनले भने “राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट दिने गर्दैन ।”

प्रतिक्रिया दिनुहोस्