Logo

फेलर र टेस्टेडलाई किन उपकुलपतिको सर्टलिस्टमा: सांसद पौड्याल



काठमाडौँ, २८ माघ । राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरूलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी छन् ।​

आइतवार राष्ट्रियसभाको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य पौड्यालले त्रिभुवन विश्वविद्यालयमा पहिले नै परीक्षण भइसकेका व्यक्तिलाई उपकुलपतिको ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी हुन् । उनले विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई र्‍याङकिङमा पछाडि धकेल्नेहरू नै सर्टलिस्टमा परेका भन्दै नियुक्तिमा राजनीतिक हस्तक्षेप हुनसक्ने आशंका व्यक्त गरिन् ।

उनले छनोट समितिले पुरानै अनुहारलाई विश्वविद्यालयको नेतृत्व दिन लागेको हो भनी सोधिन् । उनले बौद्धिक चोरीको आरोप लागेका र अख्तियारमा मुद्दा चलेकालाई किन उपकुलपतिको छनोट लिस्टमा राखियो भनेर पनि प्रश्न गरेकी थिइन् ।

उनले भनिन्, ‘मलाई के लाग्छ भने विश्वविद्यालय जस्तो ठाउँलाई हेर्ने मान्छे भनेको, राम्रा मान्छेहरू आवेदन दिएर छनौट प्रक्रियामा आउँदैनन् । राम्रो मान्छेहरू नेतृत्वले एकदम राम्रोसँग टेस्टेड र असाध्यै राम्रो मान्छेहरू चाहिँ नेतृत्वले गएर आवेदन गर्नुस् न भनेर भन्नुपर्छ । अथवा तपाईं आएर चार वर्ष यो विश्वविद्यालय सम्हाल्नुस् भन्नुपर्छ । हामीले त्यति हिम्मत गर्न सकेनौँ । आवेदनमा कति राम्रा मान्छेहरू परेकै छैनन् । त्यो भित्र टेस्टेड फेल भएका अनुहारहरू पनि आएका छन् । असफल भएका, बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरूलाई किन ल्याएको विश्वविद्यालयको छनोटमा?’

प्रतिक्रिया दिनुहोस्