Logo

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता



काभ्रेपलाञ्चोक, ७ वैशाख । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयूसँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले आज सम्झौता गरेको छ । निजी क्षेत्रमा पहिलोपटक उक्त कम्पनीले ग्रीन हाइड्रोजन परियोजना दुप्चेश्वर गाउँपालिकास्थित आफ्नो तल्लो ताँदी जलविद्युत् आयोजनामा सञ्चालन गर्ने जनाएको छ ।

दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताका अनुसार उत्पादन सुरु गर्ने जनाइएको छ ।

उक्त परियोजनाले हाल तीन हजार दुई सय किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ । सम्झौतामा कयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेल, ग्रीन हाइड्रोजन ल्यावका प्रमुख डा विराजसिंह थापा र एकेडेमिया इन्डष्ट्रिका संयोजक डा राम लामा तथा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठ, कम्पनीका निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापछि थापाले उक्त जलविद्युत् आयोजनामा वर्षामा बढेको पानीको बहावबाट ग्रीन हाइड्रोजन उत्पादन गरी वैज्ञानिक ढङ्गले सुरक्षितरुपमा जम्मा पारेर राख्ने र हिउँदमा प्रयोगमा ल्याइने गरी उत्पादन गरिने बताउनुभयो । उहाँका अनुसार केयूलाई थप अनुसन्धान गर्न जलविद्युत् आयोजनाको सम्झौताले सहज भएको छ । यस्तै हाइड्रोजन उत्पादनका दायरा बढाउन अन्य हाइड्रो कम्पनीसँग सहकार्य गर्न सकिने केयूले जनाएको छ ।

कम्पनीका अध्यक्ष श्रेष्ठले जापानमा गएर ग्रीन हाइड्रोजन उत्पादन एवं यातायातमा गरिएको प्रयोग हेरेर यसप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा हालको क्षमताअनुसार सफलतापूर्वक ग्रीन हाइड्रोजन उत्पादन गर्नसके उत्पादन बढाउँदै लैजाने बताउनुभयो । “पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र विजुलीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्छौँ, त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजनामा छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गरिने छ ।

विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजनको उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको केयूले २०७९ चैत १९ गते औपचारिक रुपमा ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो । केयूलाई नेपालमा हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट यातायातका साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्