Logo

टाउको र मेरुदण्डका बिरामीलाई बीएन्डसीमा एक लाख सहुलियत



 

काठमाण्डौ, ५ जेठ । बीएन्डसी टिचिङ हस्पिटलमा टाउको तथा मेरुदण्डको चोटको उपचारमा एक लाख रुपैयाँसम्म सहुलियत उपचार पाउने ‘विपन्न नागरिक औषधि कोष कार्यक्रम’ लागू भएको छ ।

स्वास्थ्य विभाग र बीएन्डसी हस्पिटलबीच उक्त कार्यक्रम लागू गर्ने सम्बन्धी सम्झौता भइसकेको र शुक्रवारदेखि नै सम्झौता बमोजिम बिरामीले सुविधा पाउन थालेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो ।

हस्पिटलले शुक्रवार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको बारेमा जानकारी दिएको छ । हस्पिटलका न्यूरो विभागका प्रमुख डा। करुणा ताम्राकारका अनुसार दुर्घटनाका कारण टाउकामा भएको कुनै पनि चोटको उपचार गराउँदा नेपाल सरकारकै नीति अनुरुपको उक्त कार्यक्रमबाट विरामीले एक लाख रुपैयाँ बराबरको उपचार सुविधा पाउने बताउनुभयो ।

अर्थोपेडिक्स विभागका प्रमुख डा. निराजन पराजुलीले शल्यक्रिया गर्नु नपर्ने बिरामी भए तापनि विरामीले प्रक्रिया पूरा गरेर सहुलियत उपचार सुविधा लिन पाउने बताउनुभयो ।

जनसम्पर्क अधिकृत गिरीले यस्तो सुविधा कोशी प्रदेशमै पहिलोपल्ट बीएन्डसीले पाएको जनाउँदै यो सुविधा लिनका लागि हस्पिटलबाट विरामीको सर्टिफिकेट लिएर स्थानीय पालिका जानु पर्ने र त्यहाँबाट सिफारिस लिएर आएपछि हस्पिटलले एक लाख रुपैयाँसम्मको उपचार सुविधा दिने बताउनुभयो ।

“एटीएम कार्ड जस्तै हो यो,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो–“पैसा खर्च भएन भने विरामीको खातामा अरु पैसा रहिरहन्छ । अरु हस्पिटलमा हुनुहुन्थ्यो भने पनि ट्रान्सफर गरेर बीएन्डसीमा सुविधा लिन सकिन्छ ।”

पत्रकार सम्मेलनमा हस्पिटलकी सञ्चालक अञ्जलि कार्की प्रसाई, पूर्वाञ्चल क्यान्सर हस्पिटलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्