Logo

विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीको विश्वासको मत पाएको घोषणा



काठमाडौं, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शुन्य मत परेको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) बमोजिम विश्वासको मत लिनुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदको होहल्ला र विरोध गरे पनि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रक्रिया सुरु गर्नुभएको थियो । कांग्रेस सांसदले सहकारी विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै विरोध गर्दैआएका छन् । प्रधानमन्त्रीको प्रस्तावमा तटस्थ मत १ परेको छ ।

सभामुख घिमिरेले प्रधानमन्त्रीलाई बहुमत सदस्यले विश्वासको मत दिनुभएको भन्नुहुँदै बधाई ज्ञापन गर्नुभयो । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले गत वैशाख ३१ गते सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले सोमबार चौथो पटक सदनबाट विश्वासको मत लिनुभएको हो । सरकारलाई समर्थन गरेको दलले बिचैमा सरकारबाट बाहिरिएमा ३० दिन भित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको छ ।

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि चैत ६ गते, चैत २६ गते, पुस ३० गते विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डको पक्षमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले मत दिनुभयो ।

त्यसैगरी विश्वासको मतको विपक्षमा नेपाली काँग्रेस, राप्रपा, जसपा, लोसपा लगायत दल उभिनुभयो । तर उहाँहरुले मतदान गर्नु भएन । प्रतिनिधिसभाको अर्को बैठक जेठ ८ गते विहान ११ बजे बस्ने सभामुख घिमिरेले बैठकलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्