Logo

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव



हुम्ला, ७ जेठ । हुम्लाको एक मात्र जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको छ ।

पन्ध्र शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधि अभाव हुँदा चिकित्सकले लेखेका औषधि निजी मेडिकलबाट किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । पानी नपर्दा यो समय अस्पतालमा बिरामीको चाप बढेको छ ।

रुघाखोकी, झापापखालालगायत रोगका औषधि वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निःशुल्क औषधिसमेत नभएको खार्पुनाथ गाउँपालिका–३ रायाका धनबहादुर टमटाले गुनासो गर्नुभयो । बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा बसेको भन्दै चिकित्सकले लेखेको औषधि निजी मेडिकलबाट किन्नु परेको उहाँले बताउनुभयो । रु चार हजारसम्मको औषधि निजी मेडिकलबाट किनेको भन्दै अस्पतालमा भिटामिनसमेत नभएको टमटाले गुनासो गर्नुभयो ।

अस्पतालको औषधि वितरण कक्षमा जाँदा औषधि नपाएर निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका–२ ठेहेका झप्रि सुनारले बताउनुभयो । निजी मेडिकलबाट औषधि किन्न आर्थिक अवस्था कमजोर भएकाले समस्या भइरहेको उहाँको भनाइ छ ।

वैशाख यतादेखि अस्पतालमा बिरामीको चाँप बढेको (मेडिकल अफिसर) तथा डाक्टर सुर्जनकुमार सिंहले बताउनुभयो । उहाँको अनुसार आइतबार र सोमबार मात्रै ८०/८० जनाले सेवा लिएका छन् ।

अन्य दिनमा ५० जना भन्दा कम नहुने डा सिंहले जानकारी दिनुभयो । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उहाँको भनाइ छ । गाउँघरबाट एकरदुई दिनको पैदल हिँडेर सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेका उहाँले बताउनुभयो ।

डा सिंहले भन्नुभयो, “अस्पतालमा औषधिको अभाव छ । इमर्जेन्सी, सघन उपचार कक्ष सेवाका लागि भर्ना भएका बिरामीले समेत उल्टि रोक्ने औषधि नभए गुनासो गरिरहेका छन् ।” बहिरङ् (ओपिडी) मा औषधि अभाव रहेको उहाँले बताउनुभयो ।

अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले स्वीकार गर्नुभयो । हवाई उडान नभएकाले खरिद गरेर हुम्ला ल्याइने औषधि नेपालगञ्जमा थन्किएकाले समस्या भएको उहाँले जानकारी दिनुभयो ।

अबको एकरदुर्ई दिनमा हवाई उडान सञ्चालन भएमा नेपालगञ्ज थन्किएका औषधि ढुवानी भएर यहाँ आइपुग्ने प्रमुख सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्