Logo

मानिस मात्र होइन जनावरका लागि पनि धराप



अछाम, २८ जेठ । देशका विभिन्न खोला र नदीमा भएका जीर्ण तुइन र झोलुङ्गे पुल मानिसका लागि मात्र होइन जनावरका लागि पनि धराप बनेका छन् । कर्णाली नदीमा रहेको त्यस्तै झोलुङ्गे पुलको लट्ठा चुँडिँदा दुई खच्चड मरे ।

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडा र कर्णाली प्रदेशको दैलेखको आठबिस नगरपालिका–४ जोड्ने झोलुङ्गे पुलको लट्ठा आइतबार चुँडिँदा फसेका १३ मध्ये ११ खच्चडको भने जीवितै उद्धार गरिएको छ । उद्धार गर्ने क्रममा जीवन रोका मगरका दुई वटा खच्चड मरेका छन् ।

खाद्यान्न ढुवानी गर्न अछामको कालेकाँडाबाट दैलेखको खिड्कीज्युला जाने क्रममा एकतर्फको लट्ठा चुँडिएको थियो । लट्ठा चुँडिँदा स्थानीय जीवन रोकामगर, नवीन रोकामगर र राजेन्द्र बोहराका १३ खच्चड पुलमा फसेका थिए ।

खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्ला प्रशासनले तदारुकता देखाउँदा पुलमा फसेको चार घण्टामा उद्धार भएको हो । घटनास्थल पुग्नुभएका अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार अछाम तथा दैलेख जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेर संयुक्त रूपमा उद्धार गर्न सफल भएको हो ।

“पुलको लट्ठा चुँडिँदा पुल नै कोल्टे परेको छ । पुलमा थप जोखिम भएकाले बन्द गर्नुपर्ने अवस्था छ । अहिलेलाई पुल बन्द गर्नुपर्ने छ,” घटनास्थल पुग्नुभएका अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले भन्नुभयो ।

पुलमा आवतजावत बन्द हुँदा दैलेखबाट अछामको चण्डिका माध्यमिक विद्यालय जाने विद्यार्थीलाई मर्का परेको छ । उनीहरूले कर्णाली नदीमा डुङ्गाको सहायताले वारपार गर्नुपर्ने अवस्था आएको छ । अछामबाट बोर्डिङ स्कुल पढ्न दैलेखको राकम कर्णाली जाने विद्यार्थीलाई पनि पुल बन्द हुँदा जान समस्या भएको छ । आइतबार बिहान पुलबाटै हिँडेर विद्यालय गएका बालबालिका साँझ घर फर्किंदा डुङ्गाबाट नदी तरेर घर पुगेका थिए । सो विद्यालयका कतिपय शिक्षकको डेरासमेत दैलेखमा छ । उनीहरूलाई पढाउन जान समस्या भएको छ । दैलेखबाट चण्डिका माध्यमिक विद्यालयमा ७० जनाभन्दा बढी विद्यार्थी पढ्न जाने गर्छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ को एक मात्र बजार दैलेखको खिड्कीज्युला बजार भएकाले स्थानीयलाई दैनिक उपभोग्य सामग्री किनमेल गर्नसमेत असहज हुने स्थानीय भरत साउदले बताउनुभयो । कालेकाँडावासीका लागि पुल मात्र भत्किएको छैन, उनीहरूको बिहानबेलुकीको हात मुख जोड्ने माध्यम पनि बन्द भएको साउदको भनाइ छ ।

पुल मर्मत नहुँदासम्म कालेकाँडाका बासिन्दालाई खाद्यान्न र अन्य दैनिक जीवनयापनमा कठिनाइ हुने स्थानीय बताउँछन् । कालेकाँडाको माथिल्लो क्षेत्रमा सडक सञ्चालन नहुँदा यातायातको साधनका रूपमा खच्चडको प्रयोग हुने गरेको छ ।

२०५८ सालमा निर्माण भएको पुल मर्मतसम्भार नहुँदा जीर्ण बनेको हो । पुलको मर्मतको काम कहिले सुरु हुन्छ भन्नेबारे सरकारी निकाय अनभिज्ञ छ । वडाध्यक्ष रामप्रसाद जैसीले पुल पुनर्निर्माणका लागि नगरप्रमुखसँग छलफल भइरहेको बताउनुभयो, गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्