Logo

गस्तीमा खटिएका दुई प्रहरीको मोटरसाइकल दुर्घटना परी मृत्यु



 

सिन्धुली, २८ जेठ । सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ ।

प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गर्दै पुनःप्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।

सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्