Logo

सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज पुगे, लेखे ‘हेलो फ्रम वेस्ट इन्डिज’



काठमाडौँ, २८ जेठ । टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ ।

उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार वेस्ट इन्डिज पुगेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ ९क्यान० लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन,’ उनले भनेका छन्, ‘तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’

उनले थप लेखेका छन्, ‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

चतुरबहादुर चन्द र पारस खड्काको छवि धुमिल बनाउने प्रयासबाट आफू दुःखी भएको पनि बताएका छन् । क्यान र नेपाली क्रिकेटको छवि खराब गर्ने प्रोपोगान्डाको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् ।

अमेरिकाले भिसा नदिएपछि रोकिएका उनी वैकल्पिक बाटोबाट वेस्ट इन्डिज गएको क्यान स्रोतले बतायो । अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा उनले खेल्न पाउने भएका छन् ।

फास्ट बलर प्रतिश जिसीलाई रिजर्भमा राखेर सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ ।

वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्