Logo

टी-२० विश्वकप: दोस्रो खेलमा नेपाल बुधबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै



काठमाडौँ, २९ जेठ । आइसिसी टी-२० क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले बुधबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार बिहान हुने नेपाल र श्रीलङ्काबिचको खेल विश्वकपको यस मैदानमा हुन लागेको पहिलो खेल हो ।

अमेरिकाकै पुरानो यस मैदान दुवै टोलीका लागि नौलो मानिएको छ । पिचको बारेमा दुवै टोली अनविज्ञ रहेकोले नतिजा कस्को पक्षमा जान्छ भन्ने यकिन गर्न नसकिने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले बताउनुभयो ।

‘‘नेदरल्यान्ड्ससँग डालासमा सोचेजस्तो गर्न सकेनौँ । फ्लोरिडाको पिचको कन्डिसन अलि राम्रो छ । हामी यस पिचमा सुधारिएको प्रदर्शन गर्दै टेस्ट टोलीलाई हराएर नयाँ कीर्तिमान बनाउन चाहन्छौँ । तर श्रीलंकालाई हल्का र कमजोर आँकेका छैनौ । विश्वकप जितिसकेको श्रीलङ्का सन्तुलित टोली हो । हामी बलिङ र ब्याटिङमा सुधार गर्दै जित्नका लागि खेल्नेछौँ । हाम्रो क्षमता अनुसार खेल्यौँ भने जस्तो टिमलाई पनि हराउन सक्छौँ । अहिले हामीलाई भन्दा श्रीलङ्कालाई बढी दबाब छ,’’ रोहितले भन्नुभयो ।

नेपालले श्रीलङ्काको सिनियर टोलीसँग खेल्न लागेको यो पहिलो पटक हो । समूहको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपाललाई अगाडि बढ्ने सम्भावना कायम राख्न श्रीलङ्कालाई हराउनु पर्नेछ ।

यता अघिल्ला दुई खेलमा लगातार हार खेपेको श्रीलङ्कालाई सुपर आठको यात्रा जिवित राख्न नेपाललाई हराउनै पर्ने बाध्यता छ । श्रीलङ्का विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो । त्यसैले श्रीलङ्काविरुद्धको जितले नेपाललाई राहत मिल्नेछ भने हारले श्रीलङ्का बाहिरिने छ ।

पाँच टोली सम्मिलित समूह ‘डी’ मा रहेको नेपालले तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा अन्तिम खेल खेल्नेछ ।

डालासमा जस्तै श्रीलङ्काविरुद्धको खेलमा पनि नेपाललाई समर्थको उल्लेख्य साथ रहने अनुमान गरिएको छ । १४ हजार दर्शक क्षमता रहेको ब्रोवार्ड काउन्टी स्टेडियममा आउने अधिकांश दर्शक नेपाली मूलका हुनेछन् । तर बुधबारको खेलमा वर्षा बाधक हुनसक्ने पूर्वानुमान पनि रहेको छ ।

यस्तै श्रीलङ्काका बलिङ प्रशिक्षक अकिव जावेदले सबै खाले अन्तर्राष्ट्रिय खेल खेल्न दबाब हुने भएकोले नेपालविरुद्ध खेल्न सहज नहुने बताउनुभयो ।

‘‘यस पटकको विश्वकप सोचेभन्दा फरक भैरहेको छ । टेस्ट टोली र एसोसिएटको प्रदर्शनमा खासै फरक छैन । पिचको कन्डिसनले शसंकित बनाईरहेको छ । यस विश्वकपको सुन्दर पक्ष भनेको जसले जसलाई पनि हराउन सक्नु हो । पिचलाई बुझेर जस्ले रन बनाउन सक्छ उसैले जितिरहेको छ,’’ खेलअघि मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जावेदले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘यस मैदानमा जस्ले रन बनाउन सक्छ, उसैको पल्ला भारी हुनेछ । नेपालविरुद्धको खेल गुमाएमा श्रीलङ्काका लागि घातक हुनेछ । श्रीलङ्काको बलियो पक्ष भनेको आक्रामक बलिङ हो । तर अहिलेको अवस्थामा केही भन्न सकिन्न ।’’

समूहमा अहिले लगातार तीन खेल जितेको दक्षिण अफ्रिका ६ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा हरेको बङ्गलादेश र नेदरल्यान्ड्सको दुई खेलबाट समान दुई अङ्क छ । एक खेल सकेको नेपाल र दुई खेल सकेको श्रीलङ्का अङ्कबिहन छ ।

सन्दीपको आगमनले उत्साह

नेपालका कप्तान रोहित पौडेलले सन्दीप लामिछानेको टोलीमा आगमनले उत्साह थपेको बताउनुभएको छ ।

‘‘सन्दीप दाईले वेस्ट इन्डिजमा खेल्ने पक्का भएपछि हामी उत्साहित बनेका छौँ । उहाँले यहाँ खेल्न पाउनुभएन । तर उहाँले क्यारावियन लिग खेलिसकेकोले वेस्ट इन्डिजको पिचबारे उहाँलाई राम्रो ज्ञान छ,’’ रोहितले भन्नुभयो ।

सन्दीप सहभागी भएपनि नेपाली टोलीमा १४ जना खेलाडी रहने रोहितले स्पस्ट पार्नुभयो । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले अमेरिकामा भएको समूह चरणको दुई खेल गुमाउनुभएको थियो ।

विश्वकप खेल्न सोमबार वेस्ट इन्डिज पग्नुभएका सन्दीप टोलीमा समाबेश हुने भएपछि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको छ ।

विश्वकप खेल्ने नेपाली टिम

टी–२० विश्वकप खेल्ने नेपाली टिममा अमेरिकी भिसा नपाएका सन्दीप लामिछानेसमेत थपिएका छन्। उनले वेस्ट इन्डिजमा हुने खेल मात्र खेल्नेछन्। नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

प्रतिक्रिया दिनुहोस्