Logo

‘शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धताका साथ काम जारी’



काठमाडौं , ४ असार । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धताका साथ काम गरिरहेको बताउनुभएको छ ।

मन्त्रालयको कार्यभार सम्हालेको १ सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री श्रेष्ठले राजनीतिक हस्तक्षेपका कारण शिक्षा क्षेत्रमा अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख गर्नुहुँदै त्यसको अन्त्यका लागि योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले शिक्षकहरूलाई दलीय राजनीतिबाट अलग राख्ने, विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारीहरूको नियुक्त गर्ने प्रवृत्तिको अन्त्य गर्ने लगायतका कामहरू मन्त्रालयले अगाडि बढाएको र हालसम्म ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको, ४५ जना शिक्षकविरुद्ध उजुरी परेकोमा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले १ सय दिनको अवधिमा चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा एवं भौतिक सम्पत्तिको अवस्थाबारे छानविन गर्न समिति गठन गर्ने, शिक्षक सरुवा निर्देशिका जारी गर्ने लगायतका सुधारका कामहरू भएको उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले सार्वजनिक भएको चिकित्सा शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा शिक्षक सरुवा निर्देशिका कार्यान्वयन गर्न मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञ एवं सरोकारवालाहरूसँग छलफल गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्