Logo

कुम्भनगरी चतराधाममा कौसकी आरती



सुनसरी, ३ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिका- १ स्थित कुम्भनगरी चतराधाममा कौसीकी आरती सुरु गरिएको छ ।

बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार साउन १ गते साँझ ६ बजेदेखि कौसीकी आरती सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

साउन प्रारम्भसँगै चतराधामको दुर्वासाघाट क्षेत्रको कोशी किनारमा साउन महिनाभरी प्रत्येक हप्ता शनिबार र आइतबार कौशिकी आरती गरिने प्रमुख कार्कीले बताउनुभयो । नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न जगतगुरु पीठ चतराधामको सहयोगमा कौशिकी आरती सुरु गरेको नगरपालिकाले जनाएको छ ।

बराहक्षेत्रमा धार्मिक पर्यटनको विकास र यस क्षेत्रको महत्व बढाउनका लागि सन्ध्याकालीन कौशिकी आरती सुरु गरिएको प्रमुख कार्कीले बताउनुभयो । साउनभरी हप्तामा दुई पटक गर्ने कौसकी आरती भदौपछि आवश्यक छलफल गरेर अगाडि बढाउने तयारी भएको प्रमुख कार्कीले बताउनुभयो ।

धार्मिक पर्यटक बराहक्षेत्र मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, सिसमहल र औलिया मठको दर्शनपछि साँझमा कौशिकी आरतीमा सहभागी हुन पाउन् भनेर आरतीलाई निन्तरता दिन सुरु गरेको नगर प्रमुख कार्कीले बताउनुभयो ।

सात वटा कोसी मिलेर बनेको सप्तकौशिकी नदी किनारमा बनाइएको सिँढी चौतालको खुला ठाउँमा तीन जना गुरुले दैनिक साँझ महाआरती गरिने छ । योभन्दा पहिले सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा रहेको सखडा भगवती मन्दिर नजिक रहेको पोखरीमा साँझ दैनिक पाँचवटा गुरुबाट गङ्गा आरती हुँदै आएको छ । यहाँ आरतीमा सयौँको सङ्ख्यामा स्थानीय तथा बाहिरबाट आउने भक्तजन सहभागी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्