Logo

बङ्गलादेशमा जारी प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो



काठमाडौँ, ४ साउन । बङ्गलादेशमा जारी आरक्षणसम्बन्धी विरोध प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। प्रदर्शनको क्रममा सैयौँ घाइते भएका छन्।

सरकारी जागिरमा आरक्षणको व्यवस्था सम्बन्धी देशभर जारी विरोध प्रदर्शन थप तीव्र बन्दै गएको बीबीसीले जनाएको छ। प्रदर्शनका कारण देशभरको इन्टरनेट सेवा ठप्प छ भने विद्यालय र विश्वविद्यालयहरू अनिश्चितकालका लागि बन्दं गरिएका छन्।

सरकारी जागिरमा आरक्षणको व्यवस्था अन्त्य गर्नुपर्ने मागसहित त्यहाँका नागरिक विशेषगरी विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन्।

बङ्गलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेकाहरूको छोराछोरीलाई आरक्षण दिइएको छ। तर, आलोचकहरूले आरक्षणको उक्त व्यवस्था बङ्गलादेशकी प्रधानमन्त्री शेख हसीनालाई समर्थन गर्ने समूहका छोरोछारीलाई दिने गरेको आरोप लगाएका छन्।

बङ्गलादेशमा पछिल्लो केही दिनदेखि सरकारी जागिरमा आरक्षणको उक्त व्यवस्थालाई अन्त्य गर्नुपर्ने भन्दै विरोध प्रदर्शन हुँदै आएको छ। सन् १९७१ मा बङ्गलादेश स्वतन्त्रताको लडाई पछि पाकिस्तानसँग छुट्टिएको थियो।

यसअघि पनि विरोध हुँदा सन् २०१८ मा अदालतले सरकारको उक्त व्यवस्थामा रोक लगाएको थियो। तर, गत महिना मात्रै एक अदालतले फेरि आरक्षणको व्यवस्थालाई लागू गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस्