Logo

निरन्तर चौथो कारोबार दिन बढ्यो नेप्से



काठमाडौँ, ६ साउन। नेप्से परिसूचक निरन्तर चौथो कारोबार दिन बढेर बन्द भएको छ। गत साताको मंगलबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६१.६१ अंक बढेर २४८५.९४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १३.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.३३ अंक र सेन्सेटिभ इण्डेक्स ४.३३ अंक बढेको छ।

 

गत साताको अन्तिम कारोबार दिन १५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन पनि १५ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन ३१५ स्टकको १ लाख ७७ हजार ४६७ पटकको कारोबारमा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँबराबरको ४ करोड ११ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक र गणपति लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन सिक्लेस हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन ३४ करोड १० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने कुमारी बैंकको करिब २८ करोडको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६।८० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्