Logo

डी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई प्रदान



झापा, ७ साउन । जनपक्षीय पत्रकार स्वर्गीय देवकुमार आचार्यको स्मृतिमा स्थापित डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कार यस बर्ष झापाली सञ्चारकर्मीद्वय झुलन रेग्मी र डिकेश लामालाई प्रदान गरिएको छ ।

सोमबार बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी उक्त पुरस्कार संयुक्त रुपमा रेग्मी र लामालाई प्रदान गरिएको हो । प्रेस सेन्टर नेपाल झापाद्वारा स्थापित उक्त पुरस्कारको राशी यस बर्षबाट ४२ हजार रुपैँया पुर्याइएको छ । कार्यक्रमका अध्यक्ष राजु पाठक, कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, कोशी प्रदेश संसदीय दलका नेता तथा प्रदेश पूर्व आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो (मौसम)तथा डी. कौडिण्यकी धर्मपत्नी यमुना आचार्यले पुरस्कार राशी तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरुले डी. कौडिण्य एक कुशल शिक्षक, राजनीतिज्ञ तथा पत्रकार भएको भन्दै उनको चर्चा गरेका थिए । डी. कौडिण्यको बिषयमा व्यापक अध्ययन हुन जरुरी रहेको उनीहरुको भनाई थियो । डी. कौडिण्यको बिषयमा आम पत्रकारजन्य संघ संगठनले बहसको बिषय बनाउनुपर्नेमा उनीहरुको सुझाव थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियनका नेता राजेन्द्र गौतम, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियार, समाजवादी प्रेस संगठन झापा अध्यक्ष शम्भुजित दाहाल, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भूमिका फियाक, अग्रज पत्रकार लीला बराललगायतले  पुरस्कृत व्यक्तिहरुलाई बधाई दिँदै पुरस्कारको ओझ र गरिमा कायम राख्न आग्रह गर्नुभएको थियो ।

त्यसैगरी डी. कौडिण्यकी पत्नी यमुना आचार्य, छोरी तृप्ती आचार्य, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुमनसिंह सी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमले आआफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी आङ्बोले राणा शासन विरोधी आन्दोलनदेखि पछिल्लो पहिचानको आन्दोलनसम्म आउँदा भएका शहिदहरुको परिवारको जिम्मा राज्यले लिनुपर्ने धारणा राख्नुभयो । महान शहिदको परिवारले आफ्ना सदस्य गुमाएको पीडा बिर्सिएर मुलुकले प्राप्त उपलब्धीमा खुशी हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई प्रेस सेन्टर झापाका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गर्नुभएको थियो, भने केन्द्रीय सचिव विमल लामिछानेले डी. कौडिण्यको जीवनीका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रम संगठनका सचिव पुष्प खड्काले सञ्चालन गर्नुभएको थियो ।

देवकुमार आचार्य तत्कालिक शिक्षक, राजनीतिक व्यक्तित्व तथा जनपक्षीय पत्रकार हुनुहुन्थ्यो । विद्रोही भएको बहानामा राज्यले पक्राउ गरी उहालाई २०५९ साल साउन ७ गते चारआलीस्थित नेपाली सेनाको व्यारेकमा निर्ममतापूर्वक हत्या गरिएको थियो । आचार्यसँगै खगेन्द्र दंगाल र शंकर घिमिरेलाई समेत सोहि दिन हत्या गरिएको थियो । उहाहरुको २१औँ स्मृति दिवसको अवसरमा प्रत्येक बर्ष प्रेस सेन्टर नेपाल झापाले उक्त पुरस्कार वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्