Logo

उद्योगका काटिएको बिजुली आजै जडान गर्ने प्राधिकरण सञ्चालक समितिको निर्णय



काठमाडौं, ८ साउन। नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा आजै बिजुली जोड्ने निर्णय गरेको छ।

बैठकमा सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखे पनि बाँकी सदस्य लाइन जोड्ने पक्षमा उभिएपछि समितिले उक्त निर्णय गरेको हो।

‘हिजोको छलफलअनुसार नै आजको निर्णय भएको हो’, एक सदस्यले भने, ‘कार्यकारी निर्देशक कुलमान घिसिङले ३ महिनाको समय दिएर ६ उद्योगमा लाइन जोड्ने प्रस्ताव ल्याउनुभयो, त्यो बहुमतले पारित भयो।’

यसअघि सोमबार बसेको सञ्चालक समिति बैठक निष्कर्षविहीन भएको थियो। सोमबार नै अर्को बैठक बस्ने भने पनि बसेको थिएन। मंगलबार बैठकले निर्णय गरेसँगै अब लाइन काटिएका ६ उद्योगमा बिजुली जोडिने निश्चित भएको छ।

प्राधिकरणले असार २५ र २७ गते रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो।

सोसँगै यही साउन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई तत्काल काटिएका उद्योगको बिजुली जोड्न निर्देशन दिनुुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्