Logo

विमान दुर्घटनाबारे विस्तृत छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने मन्त्रिपरिषदको निर्णय

साउन १० गते बिहीबार शोकका लागि राष्ट्रिय झण्डा आधा झुकाउने



काठमाडौं,९ साउन ।  सरकारले आज भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे विस्तृत छानविन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

आयोगमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका  कर्मचारी सञ्जय अधिकारी रहनुभएको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलका अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहनुभएको मन्त्री गुरुङले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

जाचँवुझ आयोगले घटनाको विस्तृत जाँचबुझ गरि आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाइनु पर्ने सुझाव सहितको प्रतिवेदन ४५ दिनभित्र सरकारलाई बुझाउनु पर्नेछ ।

यस्तै मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनामा परि निधन हुनुभएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुसँगै घाइते भई उपचाररत पाइलटको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले विमान कम्पनीहरूले अनिवार्य प्राविधिक परीक्षण गर्नुपर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता मन्त्री गुरुङले बताउनुभयो ।

सरकारले यस शोकको घडीमा भोली साउन १० गते बिहीबार शोकका लागि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको पनि मन्त्री गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्