Logo

सौर्यको जहाज यसकारण लगिँदै थियो पोखरा, उडाउन अयोग्य थियो कि थिएन ?



काठमाडौँ, १० साउन । दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान आज ‘सी चेक’का लागि पोखरा जाँदै थियो । मर्मत गर्नका लागि पोखरा जान लागेको भए पनि जहाज उड्नको लागि योग्य थियो ।

‘अन्य जहाजहरु पनि मर्मतका लागि आफ्नो अनकुल विमानस्थलहरुमा जाने गरेका छन् । केही जहाजहरुको भने त्रिभुवन विमानस्थालमा आफ्नै ह्यांगर भएकाले यहीँ मर्मत गर्ने गरेका छन् ।

जहाज नियमित परीक्षणका लागि पोखरा जाँदै थियो ।

के हो त जहाजको सी चेक ? किन पोखरा जानुपर्ने आवश्यकता पर्‍यो ? 

सी चेक अर्थात् कम्प्रिहेन्सिभ इन्स्पेक्सन । यो भनेको जहाजको नियमित मर्मत हो । यस्तो मर्मत हरेक १८ देखि २४ महिनामा गरिन्छ । यसअन्तर्गत जहाजको प्रणाली, संरचना र सामग्रीहरुको विस्तृत परीक्षण गरिन्छ । विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन, ल्यान्डिङ गियर, इलेक्ट्रिक्ल सिस्टमसम्म परीक्षण गरिन्छ ।

उड्डयन विज्ञका अनुसार विमानको यसरी गरिने परीक्षण ए चेक, बी चेक, सी चेक र डी चेक गरी चार प्रकारको हुन्छ । ए र बी चेक सामान्य खालको हुन्छ भने सी र डी चेकमा विमानको विस्तृत परीक्षण गरिन्छ ।

यसका लागि अलि धेरै ठाउँ आवश्यक भएकाले ह्यांगर चाहिन्छ । यस्तो नियमित परीक्षण बुद्ध एयरले काठमाडौंस्थित ह्यांगरमै गर्छ भने सौर्य एयरलाइन्सको पोखरामा ह्यांगर भएकाले जहाजलाई पोखरा लैजान लागेको थियो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार सी चेकमा लैजान लागिएको भन्नुको अर्थ विमान बिग्रिएर नभई नियमित परीक्षणका लागि लैजान लागिएको हो । बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्सको पनि अझै १ सय १९ घण्टा उडान अवधि बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्