Logo

एक दिनको करेक्सनपछि फेरि उकालो लाग्यो नेप्से



काठमाडौं, १० साउन । एक दिनको करेक्सनपछि बिहीबार सेयर बजार फेरि बढेको छ । यस दिन नेप्से सूचक ३२।०२ विन्दुले बढेर २५६८।११ अंकमा आइपुगेको छ । १४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूहमा तेजी आएको छ । यो समूहको सूचक ६।८३ प्रतिशतले बढेको हो ।

यसअघि निरन्तर ६ कार्य दिन बढेपछि नेप्से बुधबार करेक्सन भएको थियो । ६ कार्य दिनमा मात्रै नेप्से सूचक ३२६।९५ अंक बढेको थियो । त्यसो त यो बुल –र्याली २०३७ अंकबाटै सुरु भएको थियो ।

छोटो समयमा निकै राम्रोसँग बढेको बजारबाट केही नाफा बुक गर्दा बुधबार बजार केही प्रभाावित भएको थियो । पछिल्ला दिनहरुमा नेप्सेमा खासै ठूलो करेक्सन नै आएको छैन । कतिपय अवस्थामा इन्ट्रा डे करेक्सनकै भरमा बजार फेरि बढेको देखिन्छ । अनि, लगातार ५–६ दिन बढेपछि बीचमा एक दिन सामान्य अंकको मात्र करेक्सन आएको देखिन्छ । यसबाट बजार बुल रनमा प्रवेश गरेको अनुमान लगाउन सकिन्छ ।

सरकार पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएको छ । केन्द्रीय बैंकले पनि लचिलो मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । बैंकिङ प्रणालीमा प्रचुरमात्रामा तरलता रहेको छ । बैंक ब्याजदर निरन्तर घटेको छ । बजारले ३ वर्षे लामो बियरिस चक्र पनि पार गरेको छ । यी कारणहरुले बजारले माथितिरकै यात्रा तय गर्न खोजेको देखिन्छ । यसअघि बजारमा लामो समयसम्म थला परेको थियो ।

धेरैले २२ सयभन्दा तल नझर्ने आँकलन गरेका थिए तर । बजार १८ सय आसपासम्म आयो । त्यो पनि लामो समयसम्म १८ सयकै तहमा बस्यो । विगतमा नेप्से वास्तविकताभन्दा पनि निकै तल झरेकाले पनि अहिले अवस्था अनूकुल हुँदा बजार निकै बलियो देखिएको जानकारहरु बताउँछन् ।

यस दिन ३२० कम्पनीको ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ३४ करोड १७ लाखभन्दा बढीसहित सानिमा जीआइसी इन्सुरेन्स परेका छन् । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्