Logo

काँकडभिट्टा नाकाबाट तीन अर्बको प्लाईउड र भेनियर निर्यात



झापा, १२ साउन । आर्थिक वर्ष २०८०/०८१ मा पूर्वीनाका काँकडभिट्टाबाट रु. दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार ८०१ मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वी पहाडको खेतबारीमा उत्तीस लगायतका छिटो हुर्किने बिरुवाको काठ चिरान गरेर प्लाईउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाई उड बनाउने गरिन्छ । प्लाई उडको धुलो समेत निर्यात हुने गरेको छ ।

सोही अवधिमा रु. २४ करोड १९ लाख ३४ हजार मूल्य बराबरको २१ हजार ९९४ मेट्रिक टन भेनियर उड भारत निर्यात भएको थियो भने रु. दुई अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्य बराबरको ७७ हजार ७१२ मेट्रिक टन प्लाई उड निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवले बताउनुभयो । प्लाईउड उत्पादन गर्ने क्रममा निस्कने काठको धुलो समेत विक्री हुने गरेको छ । उक्त अवधिमा रु. चार लाख ५९ हजार मूल्य बराबरको ९२ मेट्रिक टन काठको धुलो भारत निर्यात भएको छ ।पूर्वीनाकाबाट रु. १८ लाख ८२ हजार मूल्य बराबरको तीन मेट्रिक टन काठबाट बनेका हस्तकलाका सामान एक वर्षमा भारत निर्यात भएको उहाँले जानकारी दिनुभयो ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले भारतीय मुद्रा आर्जन गर्न र व्यापार घाटा न्यूनीकरण गर्न प्लाईउड लगायतका काठजन्य उत्पादनको निर्यातले ठूलो योगदान पुर्याएको बताउनुभयो ।केही वर्षयता प्लाईउडको व्यापारमा उतारचढाव आइरहे तापनि कच्चा पदार्थको संकलन र निर्यातमा अवरोध नभएको उहाँले बताउनुभयो । गत आव २०८०/०८१ मा भारत सरकारले गुणस्तरको नयाँ मापदण्ड बनाउँदा प्लाईउडको निर्यातमा अवरोध आउनसक्ने भनी नेपाली व्यवसायीमा त्रास व्याप्त थियो ।

आफ्नै खेतमा अन्नबाली रोप्दा बाँदर र बन्यजन्तुले नाश गरिदिने समस्या भोगिरहेका पूर्वी पहाडका जिल्लामा किसानहरुले रुखोपाखो बारीमा छिटो हुर्किने उत्तिस लगायतका विरुवा रोप्न थालेका छन् । यसबाट पर्यावरण संरक्षण र किसानको जीविकोपार्जनका क्षेत्रमा योगदान पुगिरहेको अध्यक्ष प्रसाईले बताउनुभयो ।नेपालको पूर्वी जिल्लाहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट संकलन गरिएका काठबाट बनेका प्लाईउडलगायतका काठजन्य उत्पादन पूर्वीनाका काँकडभिट्टा भन्सारबाट भारत निर्यात हुने गरेको छ । तर तराईका दर्जनौं नाकाबाट समेत यी सामान भारततर्फ निर्यात भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्