काठमाडौँ, २९ जेठ । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा बसालेको थियो । कामपा बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहमति भए लगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लगिएको हो । मौसमले साथ दिएमा अबको १० दिनभित्र उपत्यकाको सबै सडकमा थपिएको फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गरिसक्ने उनको दाबी छ । कामपाले स्थानीयसँग सम्झौता भए लगत्तै सबै वडा कार्यालयलाई तत्काल फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।







